काठमाण्डाै,२२ कार्तिक । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिदै छन् । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उनलेे विश्वासको मत लिने तयारी छ ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत लिन लागेका हुन ।
नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे यही कार्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारसहित गठबन्धनका दलहरु सहभागी सरकारको आउँदाे साझा कार्यक्रमहरु सार्वजनिक गर्ने बताएका छन् ।च
अहिले १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ सदस्य आवश्यक हुन्छ । प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई/दुई जना तथा जनता समाजवादी पार्टी नेपालको एक जना प्रदेश सभाका सदस्य छन् ।
माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका पाण्डेले प्रदेशका मन्त्रालय फुटाएर भागबण्डा मिलाउने तयारी गरेकाे बताइएको छ । माओवादी र कांग्रेसले चार/चार मन्त्रालय र एक/एक राज्यमन्त्री मागेका छन् ।
प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाएर १२ पुर्याउने र चार जना राज्यमन्त्री पनि नियुक्त गर्ने गरी सरकार विस्तारको तयारीमा गठबन्धन जुटेको छ ।






