बुटवल,१७ कार्तिक ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले
अदालतमा देखापरेको बिवादकाे निकास स्वयं प्रधानन्यायाधिश चोलेन्द्र समसेर जवरालेनै दिनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस गुल्मी रूपन्देही सम्पर्क समितिद्वारा बुधबार बुटवलमा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै कांग्रेस नेता काेइरालाले न्यायालयमा देखिएको बिवाद प्रधानन्यायाधीशकै कारण उत्पन्न भएको भन्दै प्रधानन्यायाधीश जबरालेनै निकास दिनुपर्ने बताएका हुन् ।
न्यायालयकाे प्रमुखले कार्यपालिकामा भाग खाेज्नु गलत भएको भन्दै भाग दिने पनि उत्तिकै दाेष भएको बिचार व्यक्त गरे ।
न्यायपालिका,कार्यपालिका,व्यवस्थापिका र संबैधानिक निकायमा समेत बेथिति देखिएको भन्दै उनलेे न्यायालयको बिवाद बारे राजनीतिक दलहरूले पनि बाेल्नुपर्ने बताए ।
आगामी आम निर्वाचनमा पार्टीका आम नेता कार्यकर्ताले काँग्रेसले एक्लै चुनाव लड्नुपर्ने मत राखेकाे भन्दै नेता काेइरालाले काँग्रेस एक्लै चुनाव लड्ने हिम्मत गर्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु पूर्वमन्त्री रेवतीप्रसाद भुसाल, कपिलबस्तुका सभापति तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्य, रोल्पाका सभापति तथा पूर्वमन्त्री अमर पुन, गुल्मीका सभापति भुवन श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोबिन्द पोखरेललगायतले पार्टीले नयाँ नेतृत्व खोजेको भन्दै पार्टीलाई चलायमान बनाउन नयाँ नेतृत्व आउनु पर्ने बताए ।
पार्टीको महाधिवेशन प्रभावित पार्नको लागि सभापति शेरबहादुर देउवाले व्यूरोकेट्स (कर्मचारी) प्रयोग गरेको आरोप लगाउदै नेता कोईरालाले पार्टीका सभापति देउवाले महाधिवेशन आफ्नो पक्षमा पार्न सिडिओ र डिआईजी प्रयोग गर्नु दुर्भाग्यपूर्ण भएको बताए ।
सम्पर्क समितिका सभापति घनश्याम पन्तको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य महेन्द्र भण्डारी, गुल्मीका सचिव खिलध्वज पन्थी, रुपन्देही क्षेत्र नं. २ का सभापति हरि लम्साल, बुटवल नगर समितिका सभापति, खेलराज पाण्डे, डिएलएका केन्द्रीय उपाध्यक्ष गोकर्णसिंह थापा, सम्पर्क समितिका सल्लाहकार हरिबहादुर आचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाली काँग्रेस बुटवलका सचिव समेत रहेका सम्पर्क समितिका सचिव छाया पोखरेलको सञ्चालनमा भएको थियो ।






