बुटवल,१७ कार्तिक । रुपन्देहीमा पनि राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने
भएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तिहारको बेला राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको हो ।
प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न आग्रह समेत गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा देउसीभैलोलगायतका परम्परागत साँस्कृतिक कार्यक्रम राति ९ बजेसम्म स्थानीय रुपमा सीमित संख्यामा सहभागी भई स्वास्थ्य मापदण्डको पालना गरेर खेल्न आग्रह गरिएको छ । धार्मिक साँस्कृतिक र सामाजिक सहिष्णुता कायम गरी चाडपर्व मनाउन र चाडपर्व मनाउँदा सरकारले तोके बमोजिम तथा जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञामा उल्लेख भए बमोजिमका मापदण्डको पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ ।
समाजमा अशान्ति फैलाउने किसिमका आतिसबाजी, पटका पड्काउने, सो को अवैध बेचबिखन गर्ने, विष्फोटक पदार्थ आयात एवं बिक्री वितरण गर्ने कार्य पनि प्रशासनले निषेध गरेको छ । अखाद्य वस्तुको बिक्री नगर्न, मूल्यवृद्धि र कालोबजारी नगर्न, मदिराजन्य पदार्थको सेवन गरी होहल्ला गर्ने कार्य नगर्न पनि प्रशासनले सम्बद्ध सबैमा अनुरोध गरेको छ । कानुन विपरितका क्रियाकलाप भए गरेको पाइए कारवाही हुने समेत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।






