काठमाडौं,१६ कार्तिक ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी सन् २०२४ सम्म नेपालमै रहने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अलमुताइरीको सम्झौता सन् २०२४ को अन्त्यसम्म थप गरेको हो ।

मंगलबार एन्फा केन्द्रीय सदस्य तथा राष्ट्रिय टिमका म्यानेजर मधुसुदन उपाध्यायले अलमुताइरीलाई २०२४ लेखिएको जर्सी प्रदान गरे ।

कतार फुटबल संघको सहयोगमा एन्फाले अलमुताईरीलाई नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकको रुपमा सम्झौता गरेको हो ।

गत महिना माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेलअघि प्रिम्याच कन्फरेन्समा अलमुताइरीले आफू नेपाल नफर्कने बताएका थिए ।

तर एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अलमुताइरीलाई कतारमै गएर भेट गरेपछि कतार फुटबल संघसंग छलफल गरेपछि अलमुताइरी नेपाल आउन सहमत भएका हुन् । उनको तलब कतार फुटबल संघले व्यहोर्नेछ ।

के कुराले तपाईँलाई नेपाल आउन प्रेरित ग¥यो भन्ने पत्रकारको प्रश्नमा अलमुताइरीले नेपाली जनताको मायाले गर्दा आफू फर्केको बताए ।

‘मैले अञ्जन (विष्ट), आयुष (घलान), मनिष (डाँगी) सँगै मेरो टीमका सदस्यहरू किरण (श्रेष्ठ), विकास (मल्ल) सँगै नेपाली समर्थकले मलाई दिएको मायाले गर्दा नाइँ भन्न नसकेर नेपाल फर्किएँ’ अलमुताइरीले भने ।

अब तीन वर्षको योजना बनाएर अघि बढ्ने बताउदै अलमुताइरीले तीन वर्षका लागि तीन चरणको योजना बनाएको बताए । उनले मंगलबारको पत्रकार सम्मेलनमा पहिलो चरणको योजना पनि सार्वजनिक गरेका छन् ।

‘हामी अब तीन चरणको योजना बनाएर अघि बढ्नेछौं । पहिलो चरण २०२३ को एसियन कपको अन्तिम चरणको छनोट हुनेछ । यसमा हामी नेपालको वरियता सुधार गर्ने लक्ष्य छ’ अलमुताइरीले भने ।

‘दोस्रो चरण २०२६ को विश्वकप छनोटका लागि हुनेछ । सो खेल सन् २०२३ मा सुरु हुनेछ । तेस्रो चरण २०२७ को एसिएन कप छनोटको लागि हुनेछ’ उनले भने ।

अलमुताइरीले नेपाली फुटबलको विकासका लागि खेलाडीलाई मोटिभेट गर्नुपर्ने बताए ।