पाल्पा,१५ कार्तिक ।
लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री बीरबहादुर रानाले पाल्पाको आर्थिक विकासका लागि योजना ल्याउन उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन्

पाल्पाबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीद्वय बीरबहादुर राना र रमा घर्तीकाे सम्मानमा पाल्पा उद्योग बाणिज्य संघद्वारा साेमबार तानसेनमा आयाेजित सम्मान कार्यक्रममा बाेल्दै मन्त्री रानाले तानसेन लगायत समग्र पाल्पा जिल्लाकै आर्थिक विकासमा टेवा पुग्ने खालका योजना बनाउन उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका हुन् ।
के कस्ता योजना अगाडि सार्दा जिल्ला सदरमुकाम तानसेन र समग्र पाल्पा जिल्लाबासीकाे आर्थिक अवस्था सुदृढ हुन्छ भन्ने बिषयमा छलफल गरेर योजना बनाउन आग्रह गर्दै मन्त्री रानाले त्यस्ता योजनाका लागि प्रदेश सरकारकाे बजेटबाट सम्भव नभए संघीय सरकारसँग समन्वय गरेर भए पनि योजना सम्पन्न गर्ने प्रतिवद्वता व्यक्त गरे ।
उज्यालो प्रदेशको योजना सहित आफू अगाडि बढेको दाेहाेर्याउदै उनलेे त्यसको सुरुवात पाल्पाको बिकट ठाउँबाट गर्ने जानकारी समेत गराए ।
सिद्वार्थ राजमार्गकाे पाल्पा बुटवल सडक खण्ड तथा तानसेन तम्घास सडकमा भएका खाल्डाखुल्डी र सवारी जामले सवारी दुर्घटनाको जाेखिम रहेको भन्दै मन्त्री रानाले खाल्डाखुल्डी पुर्न र सवारी आवागमन सहज बजाउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।
कानुन,महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले पाल्पाको विकासका लागि आफू कटिबद्ध भएर लाग्ने बताइन् ।
पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष राजु महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका निवर्तमान अध्यक्ष माेहन श्रेष्ठ,बाणिज्य उपाध्यक्ष यादव कार्की,महासचिव शैलेन्द्र भट्टराई लगायतले संयाेगले प्रदेश सरकारमा पाल्पा बाट तीन जना मन्त्री बन्न सफल भएको भन्दै पाल्पाली जनताले ठूलो अपेक्षा गरेको बताए ।






