बुटवल,१४ कार्तिक ।
गृहमन्त्री बालकृष्ण खाँणले आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् ।
उनले सत्ता गठबन्धनमा रहेका दलहरु आगामी आम निर्वाचनसम्म संगै रहने बताउँदै संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ बजबुद बनाउने दावी गरे ।
कार्यवाहक प्रधानमन्त्री समेत रहेका गृहमन्त्री खाँणले आईतबार रुपन्देहीको तिलोत्तमा स्थित आफ्नो निवासमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै शान्ति र स्थायीत्व कायम गर्न संविधानको कार्यान्वयन र व्यबस्था रक्षाको लागि सरकार गम्भिर रहेको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका गृहमन्त्री खाँणले संविधानलाई सबैको स्वामित्वमा कसरी स्थापित गर्ने, संविधानको मुलधारमा नआएका राजनीतिक दलहरुलाई कसरी मुल धारको राजनीतिमा ल्याउने ? त्यसको लागि सरकारले संविधानको मुलधारमा नआईसकेका बिभिन्न राजनीतिक दलहरुसंग संवादको थालनी गरिएको बताए ।
गृहमन्त्री खाँणले वेमौषमी वर्षाका कारण आएको बाढी पहिरो तथा डुवानबाट भएको जनधनको क्षेतीको उचित व्यबस्थापन गरिने प्रतिवद्वता व्यक्त गरे । त्यस अवसरमा गृहमन्त्री खाँणले बाढी पहिरो तथा डुवान प्रभावितलाई राहतको लागि सरकारको तर्फबाट सम्बोधन समेत भईसकेको जानकारी गराए ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा बुद्धमुर्ती अनावरण गर्ने कार्यक्रममा आएका गृमहन्त्री खाँणले यसले बुद्धको प्रतिष्ठा पनि बढ्ने र बुद्ध लुम्बिनीमा जन्मिएको हो भन्ने सन्देश पनि दिने विश्वास व्यक्त गरे ।






