बुटवल,१३ कार्तिक ।
राष्ट्रिय जनमुक्ती पार्टीले रुपन्देहीको लुम्बिनीमा बृहत् आम सभा सम्पन्न गरेको छ । ‘पुर्ण संघीयता र जातीय समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, भ्रष्टचार मुक्त, समृद्ध नेपालको निर्माण हाम्रो प्रतिबद्धता’ भन्ने मुख्य नारा सहित जनमुक्ति पार्टीले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगर नगरपालिका वडा नं.२ मजुहानामा बृहत् आम सभा सम्पन्न गरेको हो ।
राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देहीका अध्यक्ष प्रेम थापाको अध्यक्षता र पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशब सूर्यबंशी मगरको प्रमुख आतिथ्यतामा सम्पन्न आम सभालाई सम्बोधन गर्दै सो पार्टीका केन्द्रीय उपाध्यक्ष डा.हाजि मोहम्मद हसनले अधिकार बिहिन आदीबासी जनजाती,मधेसी,मुस्लिम र उत्पिडित समुदायलाई एकल जातीय राज्यसत्ताले अधिकार र पहुंचको लोभ देखाउदै सधै पछाडी पारेको आरोप लगाए ।
अधिकारबिहिन जनताको अधिकारका लागि बन्दुक उठाउन समेत तयार रहेको बताउदै उपाध्यक्ष हसनले दिनहु देशको सिमाना मिचिदै जादा समेत ठूला दलहरु सत्ताका लागि भारतीय शासकका सामु नतमस्तक भएको आरोप समेत लगाए ।
कार्यक्रममा पार्टीका केन्द्रिय सचिब मोजिब अलिले सत्ताको मसिहा ठान्दै आएका नेकपा एमाले, नेपाली कांग्रेस,माओबादी केन्द्रले आदीबासी जनजाती,मधेसी,मुस्लिम र उत्पिडित समुदायलाई राज्यका हरेक क्षेत्रमा पछाडी पार्दै आएको बताउदै उनिहरुका हक अधिकार सुनिश्चितताका लागि राष्ट्रिय जनमुक्ती पार्टी एक मात्र बिकल्प भएको दाबी गरे ।
राष्ट्रिय जनमुक्ती पार्टी लुम्बिनी थरुहट मगरात प्रदेशका अध्यक्ष झम बहादुर गुरुङले नेपालका पुराना र ठूला दलहरुबाट आदीबासी जनजाती,मधेसी,मुस्लिम र उत्पिडित समुदायको उत्थान हुन नसक्ने भन्दै अधिकार प्राप्तिका लागि गाउँ गाउमा राष्ट्रिय जनमुक्ती पार्टीको संगठन निर्माण गर्न आवस्यक रहेको बताए ।
कार्यक्रममा विभिन्न राजनैतिक दल परित्याग गरि स्थानीय राधेश्याम बानिया, बिरेन्द्र कुमार शुक्ला, वाल्मीकि पाण्डे, राजेश लोध सहित ५० जना जनमुक्ती पार्टीमा प्रबेश गरेका थिए ।
आमसभामा पार्टीका केन्द्रीय सदस्य मोहम्मद अन्सारी, पार्टीका क्षेत्र नं.४ का अध्यक्ष सुदर्शन यादब,नवप्रबेशी बिरेन्द्र कुमार शुक्ला, राधेश्याम लोध,राजेश लोध लगायतले आदिबासी जनजाती, दलित, मुस्लिम तथा पिछडिएकाहरुको आशाको केन्द्र भनेकै जनमुक्ती पार्टी भएको महसुस गरेर आफुहरु सो पार्टीमा प्रवेश गरेको बताए ।
उनिहरुले देशका हरेक कुनाकाप्चा सम्म पार्टीको संगठन बिस्तार गरेर देशकै बैकल्पीक शक्तिको रुपमा स्थापित गर्नुपर्नेमा बताउदै त्यसका लागि आफुहरु प्रतिबद्ध भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।






