जलस्रोतको अधिकतम उपयोग गरेर मुलुकलाई समृद्ध बनाउने योजनाका साथ काम गर्ने प्रतिवद्धता

बुटवल,१३ कार्तिक ।
लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानाले जलस्रोतको अधिकतम उपयोग गरेर प्रदेश र मुलुकलाई समृद्धि बनाउने योजनाका साथ अगाडि बढेको बताएका छन् ।

बगनासकाली पाल्पा रुपन्देही एकता समाजद्वारा शनिबार बुटवलमा आयोजित दिपावलशी,छठ पर्व २०७८ तथा नेपाल सम्वत ११४२ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री रानाले जलस्रोतको अधिकतम उपयोग गरेर प्रदेश र मुलुकलाई समृद्धि बनाउने योजनाका साथ आफु अगाडि बढेको बताएका हुन्

पर्याप्त जलस्रोत रहेको मुलुक नेपालले जलस्रोतबाट लाभ लिन नसकेको भन्दै उनले जलस्रोतको अधिकतम उपयोग गरेर लाभ लिन सक्नुपर्नेमा जोड दिए ।
कृषि प्रधान मुलुक नेपालका लागि सिंचाइ सुबिधा अति जरुरी रहेको भन्दै उनले सिंचाई मार्फत उत्पादन बृद्धि गरी प्रदेशकासाथै मुलुकलाईनै समृद्ध बनाउने योजनाका साथ अगाडि बढ्ने दृढता व्यक्त गरे ।

उनले कृषिको आधार सिँचाई भएकाले सिँचाई नपुगेका स्थानमा पर्याप्त मात्रमा सिँचाईको सुविधा पु¥याउने बताए ।
विद्युत् पुग्न नसकेका ठाउँहरुमा विद्युत् सेवा पु¥याउने आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै उनले प्रदेशलाईनै उज्यालो बनाउने अभियानमा लागेको जानकारी गराए ।

विकास र समृद्धिका कुरा धेरै भइसकेको बताउदै मन्त्री रानाले अब कुरामा मात्रै नभएर काम गरेर देखाउने बेला आएको बताए ।
एक्लो प्रयासले मात्रै विकास सम्भव नहुने भन्दै उनले सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने बताए ।

केही राजनीतिक नेतृत्वको गलत प्रबृत्तिका कारण दल र रानीतिप्रति जनताको बितृस्णा उत्पन्न भएको भन्दै मन्त्री रानाले कामको माध्यमबाट जनतामा उत्पन्न निरासा र वितृस्णालाई चिर्न जरुरी रहेको बिचार व्यक्त गरे ।

पूर्वबर्ती सरकारले योजना र बजेट बनाइसकेको अबस्थामा बर्तमान सरकार गठन भएको भन्दै उनले पूर्वबर्ती सरकारले बनाएका योजना र बजेट कार्यान्वयन गर्ने बाहेक अहिलेको सरकारले धेरै ठूला काम गर्न सक्ने अवस्था नरहेको प्रष्ट पारे ।

स्रोत साधनको सिमितता रहेको र जनताका अपेक्षा असिमित रहेको बताउदै मन्त्री रानाले सिमित स्रोत साधनकाबाकजुद जे जति गर्न सकिन्छ आफु रात दिन नभनी जनताको काममा लाग्ने प्रतिवद्धता जनाए ।

बगनासकाली गाउपालिका पाल्पाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बगनासकाली पर्यटकीय सम्भाबना बोकेको पालीका भएको भन्दै रूपन्देही आएर पेशा व्यवसाय गर्ने बगनासकालीबासीले त्यसको प्रचार प्रसार गर्नुपर्ने आबस्यकता औल्याए ।

बगनासकाली पाल्पा रुपन्देही एकता समाजका अध्यक्ष कोशल बस्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बगनासकाली गाउपालिका उपाध्यक्ष सरस्वती चिदी,समाजका सल्लाहकार तथा रूपन्देही उद्योग संघ पुर्व अध्यक्ष गणेश अधिकारी,आम्दा अस्पताल बुटवलका डाक्टर राजेन्द्रप्रसाद बस्याल, आर्थिक मामिला तथा सहकारी मन्त्रालयका लेखा अधिकृत लिला अर्याल,गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रेग्मी, समाजसेवी कृष्ण बहादुर थापा,कोषाध्यक्ष भरत गैरे लगायतले आ आफ्नो भनाई राखेका थिए ।