गुल्मी,१२ कार्तिक ।
बिगत नौं दिनदेखि बन्द गुल्मीको रिडी–रुद्रबेनी–वामी सडक खुलाउन नेपाली सेना परिचालन भएको छ ।

रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–२ को साँघुरेमा अबरुद्ध रहेको सडक खुलाउन नसकेपछि कालिगण्डकी करिडोर बाटो निमार्ण कार्यदल हर्मिचौर र संग्राम शार्दुल गुल्मको संयुक्त टोलि परिचालन गरिएको हो ।

बेमौसमी वर्षाका कारण सडकका विभिन्न स्थानमा ठूलो पहिरो खसेको थियो ।

अवरुद्ध सडक खुलाउन गौडाकोट राम्दी मालढुंगा सडक आयोजना कार्यालय पाल्पाले डोजर प्रयोग गरी सडक खुलाउने प्रयास गरे पनि पहिरोको बिचमा ठूला ठूला ढुंगाहरु भएकाले डोजरले सडक खुलाउन नसकिएपछि नेपाली सेनाले बिष्फोटन गरि सडक खुलाउन सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

सेनाले शुक्रबार दिनभर ठूला ढुंगालाई बिष्फोटन गरेको छ । तर ढुंगाहरु सडकमै रहेकाले शनिवार दिउँसो सम्म खुल्न सक्ने गरि काम भइरहेको सेनाले जनाएको छ । डोजरको प्रयोग गरी सडक खुलाउन नसकिएकाले बुधबार जिल्ला सुरक्षा समितिको बैठकले नेपाली सेनालाई बिस्फोट गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि शान्तीपुर, चोरकाटे,बुर्तिबाङबाट बुटवलका लागि छुटने सवारी साधन कालीगण्डकी करिडोर हर्मिचौर, मिर्मी हुँदै बुटवल जाने गरेका छन् । केहि सवारी साधान सदरमुकाम तम्घास हुँदै वामिटक्सारबाट बुर्तिबाङ तर्फ जाने गरेका छन् । जिल्लाको रिडी–रुद्रबेनी–वामी सडक अति व्यस्त सडक हो । सडक खुलेको वषौं भएपनि अझैसम्म सडक कच्चीनै रहेकोले जोखिमयुक्त रहेको छ ।