बुटवल,१२ कार्तिक ।
नेपाल नियमित रक्तदाता संघ बुटवलले होटल रोयल चौतारीको शुभारम्भको अवसरमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन ।

रगतकोे अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले स्थापित नेपाल नियमित रक्तदाता संघको टोलटोलमा रक्तदान,एक घर एक रक्तदाता भन्ने नारा साकार पार्न खुल्ला रक्तदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष दया बहादुर सिलवालले जानकारी दिए ।

संघले हरेक महिनाको तेस्रो शनिवार नियमित रुपमा र आवश्यक पर्दा जुनसुकै समयमा पनि आकस्मिक रुपमा रक्तदान गर्दै आएको उपाध्यक्ष लेखनाथ भण्डारीले बताए ।

संघका अध्यक्ष दया बहादुर सिलवालको सभापतित्व र बुटवल उपमहानगरपालिका वडा न ६ का अध्यक्ष जगदिशचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारी,बुद्ध पथ टोल बिकास संस्थाका अध्यक्ष बाबुराम गौतम,होटल रोयल चौतारीका सञ्चालक यमलाल मरासिनी लगायतले रक्तदानको आबस्यकता र महत्वको बारेमा आ आफ्नो भनाई राखेका थिए ।

बुटवल उपमहानगरपालिका वडा न ६ ट्राफिक चोकमा बुटवल वडा ६ का टोल बिकास समितिहरु सित समन्वय गरि आयोजना गरिएको रक्तदान कार्यक्रमलाई सफल बनाउन टोलका स्थानिय वासिन्दा क्रियाशिल रहेका थिए ।

होटल रोयल चौतारीले विहिवार देखि आफनो सेवा सुभारम्भ गरेको अवसरमा नियमित रक्तदाता संघसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको होटलका संचालक यमलाल मरासिनीले बताए ।