बुटवल,११ कार्तिक ।
रुपन्देहीको कञ्चन गाउपालिकाबाट चोरी भएको राष्ट्रिय परिचय पत्र बनाउन प्रयोग गरिएको क्यामेरा प्लास्टिकमा पोको पारेर राखिएको अबस्थामा फेला परेको छ ।
कञ्चन ४ रुद्रपुर माध्यमिक विद्यालयको प्रबेशद्वार रातो प्लाष्टिकमा पोका पारी झुण्ड्याईएको अवस्थामा क्यामेरा फेला परेको हो ।
यही कार्तिक ८ गते सोमबार राती रुद्रपुर माबि,कञ्चन–४ अस्नैयामा रहेको राष्ट्रिय परिचय पत्र बनाउने टोलीको २ थान डिएसएलआर क्यामेरा चोरी भएको थियो ।
चोरी भएको क्यामेरा बिहिबार अज्ञात ब्यक्तिहरुले सोही विद्यालयको मुख्य गेटको ढोकामा रातो प्लाष्टिकको झोलामा झुण्ड्याएर राखिएको अवस्थामा फेला परेको हो ।
रुद्रपुर माद्यमिक विद्यालयका सुरक्षा गार्ड हेमलाल रानाले बिहिबार बिहान ४ बजे विद्यालयको मुख्य गेटको ढोकामा झुण्ड्याएको अवस्थामा उक्त पोको देखेका थिए । उनले बिहान ४ बजे उक्त बस्तु देखे पनि बिहान ६.५७ बजे मात्रै कञ्चन गाउपालिका वडा नं. ४ का वडा सदस्य कुल बहादुर राजकोटीलाई जानकारी गराएको बताइएको छ ।
क्यामेरा चोरी भएको दिन गत सोमबार राती पनि विद्यालयका सुरक्षा गार्ड रानाले सो बिषयमा कसैलाई खवर नदिई क्यामेरा चोरी भएको कोठाको ढोका फोडिएको भन्ने थाहा भए पनि सोही कोठा भित्र पसि आफ्नो मोबाईल चार्ज गरिरहेको र बिहान अतिरिक्त कक्षा संचालन गर्न आएको बेला मात्रै शिक्षक प्रकाश क्षेत्रीलाई जानकारी गराएका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरिक्षक देबेन्द्र कुमार मल्लले जानकारी दिए ।





