काठमाण्डौ,११ कार्तिक ।
वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज आफ्नै कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हिजो बुधवार राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीको वाग्मती प्रदेशका संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्थाअनुसार प्रदेश प्रमुख शर्माले पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

एमालेका तर्फबाट धादिङ क्षेत्र १ (क) बाट विजयी पाण्डे एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को वाग्मती प्रदेश संसदीय दलको नेता चयन भएका थिए । पाण्डे वागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । यसअघि एमालेका डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेका थिए ।

वाग्मतीमा एकीकृत समाजवादी र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको जनाइएको छ । नवनियुक्त मुख्यमन्त्री पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् समेत गठन गरेका छन् । गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भँडेल र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनालले मन्त्रीको शपथ लिएका छन् ।

भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।