काठमाण्डौ,११ कार्तिक ।
सरकारले बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

त्यस्तै १० कठ्ठादेखि ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशतसम्म र ३ विघादेखि बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय भएको उनले बताए ।

कात्तिक १ देखिको वर्षा, बाढी र डुवानका कारण देशका धेरै ठाउँमा पाकेको धानबाली डुवानमा परेको थियो । धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार धानको न्युनतम समर्थन मूल्य कायम गर्दा निर्धारण भएको उत्पादन लागतका आधारमा किसानले राहत पाउनेछन् ।

किसानलाई राहत वितरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाउने र सो कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई पेश गर्ने निर्णय समेत बैठकले गरेको छ ।