बेमौसमी बर्षाका कारण धान बालीमा क्षति व्यहोरेका किसानहरुलाई क्षतिपूर्ती दिन सांसदको माग
बुटवल,११ कार्तिक ।
बेमौसमी बर्षाका कारण थन्क्याउने तयारीमा रहेको धान बालीमा क्षेति पुगेको भन्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्यले किसानहरुलाई उचित क्षतिपूर्ती दिन माग गरेका छन् ।
आज बसेको प्रदेश सभाको नवौं अधिबेशनको नवौं बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरुले बेमौसमी बर्षाका कारण थन्क्याउने तयारीमा रहेको धान बालीमा क्षेति पुगेको भन्दै प्रदेश सभा सदस्यले किसानहरुलाई उचित क्षतिपूर्ती दिन माग गरेका हुन् ।
प्रदेश सभामा बिशेष समय लिएर बोल्दै नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य रुन्धावती शर्माले कपिलबस्तु लगायत प्रदेशका बिभिन्न ठाउँमा बेमौसमी बर्षाका कारण थन्क्याउने तयारीमा रहेको धान बालीमा क्षेति पुगेको भन्दै क्षतिको बिबरण संकलन गरी किसानहरुलाई उचित क्षतिपूर्ती दिन माग गरिन् ।
यसअघि आजै बसेको प्रदेश सभाको बैठक अबरुद्ध गर्ने क्रममा नेकपा एमालेका प्रदेश सभा सदस्य नारायण आचार्यले पनि किसानहरुको धानबालीमा क्षति भैरहेका बेला सरकारले राहत दिनुको सट्टा मन्त्रालय बढाएर खर्च बढाउने काम गरेको आरोप लगाए ।
आजै बसेको प्रदेश सभाको अर्को बैठकमा वन, वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र बहादुर हमालले वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको तर्फबाट भौतिक पुर्वाधार बिकास मन्त्री सहसराम यादबले पेश गरेको जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सम्पन्न भएको छ ।
वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी र जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथीको छलफलमा इन्द्रप्रसाद खरेलले सहभागिता जनाएका थिए ।
यसअघि आज बसेको प्रदेश सभाको बैठक नेकपा एमालेका प्रदेश सभा सदस्यहरुले अबरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।
सभामुख पुर्ण बहादुर घर्तीले बैठकको कारबाही सुरु गर्नासाथ एमालेका प्रदेश सभा सदस्य नारायण आचार्यले आफुहरूको माग पूरा नभएसम्म सदन चल्न नदिने भन्दै नाराबाजी सुरु गरेका थिए । एमालेका प्रदेश सभा सदस्यहरूद्वारा लगातार आधाघण्टासम्म नाराबाजी जारी राखेपछि सभामुख घर्तीले आधाघण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
आजै बसेको प्रदेश सभाको अर्को बैठकमा भने एमालेका प्रदेश सभा सदस्यहरूको भने सहभागिता रहेको थिएन ।
एमालेले तत्कालीन नेकपाबाट निर्वाचित तर वैशाख १९ गते नै माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला खत्री वली र स्वतन्त्र सांसद अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गर्दै आएको छ । तर सभामुख पूर्णबहादुर घर्तीले भने एमालेले उठाएको मुद्धा सर्वोच्च अदालतमा बिचाराधीन रहेको भन्दै अदालतमा बिचाराधीन रहेको मुद्धाको बिषयमा सदनमा छलफल गर्न र निर्णय गर्न नमिल्ने संवैधानीक व्यवस्था रहेको सदनलाई जानकारी गराएका थिए ।
प्रदेश सभाको अर्को बैठक यही कार्तिक १४ गते आइतबार दिनको ३ बजे बस्नेगरी स्थगित भएको छ ।