बुटवल,११ कार्तिक ।
नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अबरुद्ध गरेको छ । निर्धारित समयभन्दा आधा घण्टा ढिलागरी सुरु भएको बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी गरेका छन् ।
सभामुख पुर्ण बहादुर घर्तीले बैठकको कारबाही सुरु गर्नासाथ एमालेका प्रदेश सभा सदस्य नारायण आचार्यले आफुहरूकाे माग पूरा नभएसम्म सदन चल्न नदिने भन्दै नाराबाजी सुरु गरेका थिए । अहिले एमालेका प्रदेश सभा सदस्यहरूले नाराबाजी गरिरहेका छन् ।
आजको बैठकमा प्रदेश सभा सदस्यहरूले शून्य र विशेष समयमा बोल्ने, वन, वातावरण तथा भू-संरक्षणमन्त्री सुरेन्द्र बहादुर हमालबाट वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीबाट जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भई निर्णयार्थ पेस हुने कार्यसूची रहेको थियोे ।
एमालेले तत्कालीन नेकपाबाट निर्वाचित तर वैशाख १९ गते नै माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला खत्री र स्वतन्त्र सांसद अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गर्दै आएको छ । तर प्रदेश सभा सचिवालयले उनीहरूलाई पदमुक्त गर्न नमिल्ने बताइसकेको छ ।






