बुटवल,११ कार्तिक ।
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । विपक्षी दल नेकपा (एमाले)को विरोधकै बीच दिउँसो एक बजे बैठक बस्न लागेको हो ।
आजको बैठकमा प्रदेश सभा सदस्यहरूले शून्य र विशेष समयमा बोल्ने, आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माबाट सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने सम्भावित कार्यसुचि रहेको छ ।
यस्तै वन, वातावरण तथा भू-संरक्षणमन्त्री सुरेन्ऽबहादुर हमालबाट वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीबाट जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भई निर्णयार्थ पेस हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
विपक्षी दल एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले भने आफ्ना माग सम्बोधन नभएकाले आजको बैठक पनि अवरुद्ध गर्ने बताएका छन् ।
एमालेले तत्कालीन नेकपाबाट निर्वाचित तर वैशाख १९ गते नै माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला खत्री र स्वतन्त्र सांसद अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गर्दै आएको छ । तर प्रदेश सभा सचिवालयले उनीहरूलाई पदमुक्त गर्न नमिल्ने बताइसकेको छ ।






