काठमाडौँ,१० कार्तिक । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले नेतृत्वको लागि मार्गप्रसस्त गर्न राजिनामा दिएको घोषणा गरेकी हुन् ।
आजको बैठकमा मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो । तर, प्रदेशसभाबाट विश्वासको मत नपाउने लगभग पक्का भएपछि शाक्यले राजीनामाको बाटो रोजेकी हुन् । उनी भदौ २ मा मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।
प्रदेशसभामा रहेका १०९ सांसदको बहुमत संख्या ५६ जना सांसद रहेको एमालेको एकल बहुमतको सरकारको नेतृत्व गरेकी मुख्यमन्त्री शाक्य पार्टी विभाजन भई १३ जना सांसदले एकीकृत समाजवादी रोजेपछि अल्पमतमा परेकी हुन् ।
प्रदेशसभामा हाल एमालेका ४३, माओवादी २३ र कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक सांसद छन् । शाक्यको राजीनामा घोषणा भएसँगै अब बाग्मतीमा नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुनेछ ।
गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति यसअघि भइसकेको छ । पाण्डेपछि कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने सहमति बनेको हो।






