बुटवल,९ कार्तिक ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा नदिने जवाफ दिएका छन् ।
आज न्यायाधीशहरूसँगकाे छलफलमा प्रधानन्यायाधीश जबराले
न्यायाधीशहरूलाई उक्त जवाफ दिएका हुन् ।
न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै जबराले सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह समेत गरे ।

छलफलमा एक जना न्यायाधीशले प्रश्न उठेको बताउँदै सम्मानजनकरूपमा मार्ग प्रशस्त गर्न प्रधानन्यायाधीशलाई आग्रह गरेको सह रजिस्ट्रार प्रवक्ता बाबुराम दाहालले बताए ।
जवाफमा जबराले बाहिरबाट दबाब आयो भन्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका थिए । ‘मेरो नियुक्ति संविधानअनुसार भएको हो । मेरो बहिर्गमन पनि संविधान बमोजिम नै हुन्छ । बाहिरबाट दबाब आयो भन्दैमा राजीनामा दिने कुरा हुँदैन । केही श्रीमानकाे विषयमा पनि प्रश्न उठेका छन् । के तपाईंहरु राजीनामा दिन सक्नुहुन्छ ? तपाईंहरु राजीनामा दिनुहुन्छ भने म पनि दिन्छु,’ जबराको भनाइ उद्धृत गर्दै दाहालले भने ।´सडकको दबाबबाट न्यायालय नचल्ने भन्दै उनलेे यसरी राजीनामा दिन थाले न्यायालय नबच्ने बताए ।