बुटवल,८ कार्तिक । नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउन माग गर्दै रुपन्देहीको भैरहवामा आज‘विराट धर्म सभा’ आयोजना गरिएको छ ।
विश्व ओमकार एकता महाभियानको आयोजनामा आज र भोलि दुई दिनसम्म चल्ने सभामा नेपाल र भारतका धर्मगुरुहरु भैरहवामा भेला भएका छन् ।
सभामा प्रवचन दिन भारतको जगन्नाथपुरीस्थित गोवर्द्धन पीठका प्रमुख जगतगुरु शंकराचार्य सहित एक दर्जन भारतीय हिन्दु धर्मगुरु समेत आइतबार साँझ भैरहवा आइपुगेका छन् ।
नेपाललाई धर्म निरपेक्षबाट पुनः हिन्दु राष्ट्र कायम गराउन पहल गर्न र ओमकार परिवारबीच एकताका लागि अभियान सञ्चालन गर्ने सभाको मुख्य उद्देश्य रहेको मूल आयोजक समितिका सदस्य पुष्पराज पुरुषले जानकारी दिए ।
आज मध्यान्ह भैरहवा स्थित महेन्द्र सभा गृहमा शुरु हुने धर्म सभामा वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवारका सय भन्दा धेरै संस्थाका धर्मगुरु सहित हजारौंको सहभागिता रहने उनले बताए । सभामा एक सयभन्दा धेरै धर्मगुरु र कथावाचकले प्रवचन दिनुका साथै हिन्दु धर्मको रक्षाकाे बिषयमा ब्यापक छलफल हुने बताइएको छ ।
धर्मसभा शुरु हुनु अघि भैरहवा गल्लामण्डीको हनुमान मन्दिरबाट वृहत शोभा कलश यात्रा निकाल्ने कार्यक्रम रहेको स्थानीय व्यवस्थापक कृष्णप्रसाद शर्माले जानकारी दिए ।
धर्मसभामा देशभरबाट आएका धर्मगुरुसहित रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाबाट समेत पाँच हजार बढी हिन्दु धर्मावलम्बीहरूकाे सहभागीता रहने आयोजकले जनाएका छन् ।






