काठमाण्डाै,६ कार्तिक । नेकपा एमालेकाे आज देशभर वडा अधिवेशन हुदैछ । आज देशभरका करिब ६ हजार सात सय ४३ वडाहरुमा एकैपटक पहिलो अधिवेशन हुन लागेको हो ।

अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा उद्घाटन र सम्बोधन गर्ने व्यवस्था मिलाइएको एमालेले जनाएको छ । देशभरका सम्भव भएसम्मका वडा अधिवेशनस्थललाई केन्द्रीय कार्यालयको ‘वार रुम’मा जोडेर ओलीले एकैपटक औपचारिक रुपमा अधिवेशनहरुको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नभएका ठाउँमा लोकतान्त्रिक विधिबाट निर्वाचन गर्न केन्द्रले सर्कुलर गरेको छ । यस्तै आउँदो ९ गते सात सय ५३ पालिकामा अधिवेशन भइ नयाँ नेतृत्व चयन हुने एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहनेछन् । गाउँ नगरपालिका–७५, उपमहानगरपालिका–८५, महानगरपालिका–१०१ सदस्य चुनिनेछन् । एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ ।