काठमाण्डौ,५ कार्तिक ।
जयनगर–कुर्था रेलमार्ग भारतले नेपाललाई हस्तान्तरण गरेको छ ।
भारत सरकारको आर्थिक सहयोगमा निर्मित ३५ किलोमिटर जयनगर–कुर्था सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरणको कार्य सम्पन्न भएसँगै भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
आज शुक्रवार काठमाण्डौमा आयोजित एक कार्यक्रमकाबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले रेलमार्गको स्वामित्वसम्बन्धी दस्तावेज हस्तान्तरण गरेका हुन् । आजैदेखि यस रेलमार्गको स्वामित्व नेपाल रेल्वे कम्पनी लिमिटेडमा स्थानान्तरण भएको छ ।
भारत सरकारको आर्थिक सहयोगअन्तर्गत आठ अर्ब ७७ करोड रुपैयाँमा निर्माण भएको यस रेलमार्ग ६८ दशमलव ७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गको एउटा खण्ड हो ।
यस रेलमार्ग सञ्चालन भएपछि नेपाल र भारतबीच व्यापार–वाणिज्य वृद्धिका साथै दुई देशका नागरिकबीचको सम्बन्ध र सम्पर्क अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।






