बुटवल,५ कार्तिक ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको खुनगाई र कञ्चन गाँउपालिकाको कुत्तागाँउबाट प्रहरीले साल तथा सिसमको काठ सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय लुम्बिनीले बिहिबार साँझ लुम्बिनी साँस्कृतिक नगरपालिका १ खुनगाईबाट १५ गोलिया थान सहित काठ ओसार पसार गर्न प्रयोग भएको लु १ त १२६१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

अबैध रुपमा काठ ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले ट्याक्टर चालक लुम्बिनी साँस्कृतिक नगरपालिका १० पिलपतियाका २७ वर्षिय जितेन्द्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

बरामद भएको काठको अन्दाजी मुल्य ४ लाख रुपयाँको रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि इलाका प्रहरी कार्यालय रुद्रपुरको टोलिले जिल्लाको कञ्चन गाँउपालिका कुत्तागाँउबाट खुल्ला चौरमा राखिएको ३ गोलिया थान सालको काठ र लु ६१ प ९४९७ नम्बरको मोटरसाईकलमा लोड गरिएको १ थान काठ बरामद गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

९३८.७२ क्युफट काठ बरामद भएपनि काठको कारोबार गर्ने व्यक्ति भने प्रहरी देख्नासाथ फरार भएको प्रवक्ता थापाले बताए ।

बरामद भएको काठ बन ऐन अनुसार कारवाहीका लागि डिभिजन बन कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ ।