काठमाण्डौ,५कार्तिक।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फेरि झाडापखालाका बिरामी बढ्न थालेका छन् ।
दशैँ अगाडिसम्म बिरामीको संख्या कम भए पनि दशैँ पछाडि फेरि बढ्न थालेको हो ।
असोजको १८ गतेदेखि झाडापखालाको प्रकोप फैलिदा शिवराज अस्पतालमा उपचार गर्न जाने बिरामीको संख्या ३९८ सम्म पुगेको थियो । त्यसको केही समय, त्यही हाराहारीमा बिरामी उपचारका लागि गएकामा दशैँ भन्दा एक÷दुई दिन अगाडि १० देखि १५ जनासम्ममा सिमित हुन पुगेको थियो ।
तर दशैँ लगत्तै फेरि बिरामीको संख्या बढ्न थालेको शिवराज अस्पतालले जनाएको छ ।
शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीका अनुसार अहिले दैनिक ३० देखि ३५ जनासम्म उपचारका लागि पुग्ने गरेका छन् ।
अहिले प्रभावित क्षेत्रमा ७ जना डाक्टर र ५० जना बढी स्वास्थ्यकर्मी उपचारमा खटिएको उनले जानकारी दिए ।
कृष्णनगर नगरपालिकामा हैजा फैलिएको यस अगाडि नै पुष्टि भइसकेको छ । तर मानिसहरुमा चेतनाको कमीका कारण खानपान र सरसफाइमा ध्यान दिन नसकेकाले फेरि झाडापखालाका बिरामी फैलिएका हुन सक्ने उनले बताए ।
झाडापखालाबाट बच्न पानी उमालेर मात्रै पिउन, पानीको मुहान वरिपरि सफा राख्न, शौचालयमा मात्र दिसा पिसाब गर्न स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ ।






