काठमाण्डौ,४ कार्तिक ।
अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।
फिफाले आज बिहीवार जारी गरेको वरीयतामा नेपाल एक स्थान तल झर्दै १६९ औँ स्थानमा रहेको छ । यसअघि गएको भदौ ३१ गतेको वरीयतामा नेपाल १६८ औँ स्थानमा रहेको थियो ।
भर्खरै माल्दिभ्समा भएको साफ च्याम्पियनशिपको उपविजेता बनेको नेपालको वरीयता घटेको हो ।
साफमा विजेता बनेको भारत दक्षिण एसियामा पहिलो नम्बरमै रहन सफल भएको छ । विश्वव्यापी वरीयतामा भारत नेपालभन्दा अघि १०६ औँ स्थानमा रहेको छ । त्यस्तै माल्दिभ्स १५६ औँ स्थानमा छ ।
नेपालभन्दा तल रहेको भुटान १८६ औँ, बङ्गलादेश १८७ औँ, पाकिस्तान १९७ औँ र श्रीलङ्का २०४ औँ स्थानमा रहेको छ ।
यस्तै फिफाको विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा रहँदा ब्राजिल दोस्रो, फ्रान्स तेस्रो र इटली चौथो र इङ्गल्यान्ड पाँचौँ स्थानमा रहेको छ ।








