काठमाडौं, ४ कातिक ।
अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म १०१ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, सुदूरपश्चिम प्रदेशमा ३१ जना, कर्णाली प्रदेशमा ७ जना र बागमती प्रदेशमा १ जना गरी जम्मा १०१ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।
साथै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पताल उपचार भैरहेको गृहमन्त्रालयले जनाएको छ ।
बाढी पहिरोमा परी सुदूरपश्चिम प्रदेशमा २३ जना,१ नम्बर प्रदेशमा १३ जना, लुम्बिनी प्रदेशमा ३ जना,२ नम्बर प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना गरी जम्मा ४१ जना बेपत्ता भएको र बेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ ।
बाढीको कारण जम्मा २ हजार २३२ वटा घर डुबानमा परेका छन भने ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । त्यस्तै १३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १७७ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको गृह मन्त्रालयले जनाएको छ ।







