बुटवल,४ कार्तिक । लुम्बिनी प्रदेश सरकारले बाढी पहिरोबाट क्षति भएका किशानका लागि राहत प्याकेज ल्याउने घाेषणा गरेको छ ।
प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज एक प्रेस विज्ञप्ति जारी गरि बाढी पहिरो पिडितका लागि प्रदेश सरकारको तर्फबाट राहत प्याकेज ल्याउने घाेषणा गरेका हुन् ।
बाढी पहिरोका कारण प्रदेशमा भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै विज्ञप्तिमा त्यसबाट पिडितहरूका लागि राहत प्याकेज ल्याउने घाेषणा गर्दै किसानहरुलाई परेको पीडामा प्रदेश सरकार हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिएकाे छ ।
लुम्बिनी प्रदेशमा वर्दिया लगायत अन्य जिल्लामा ३६ हजार ४८० हेक्टरमा काटिसकेपछि खेतमा राखिएको धान र ९३ हजार ५७६ हेक्टरमा रहेको खडा रहेको धानबालीसहित १ लाख ६१ हजार २२३ मेट्रिक टन धान नोक्सान हुदाँ करिव ४ अर्व ५१ करोड ४२ लाख रुपैयाँको बाली नस्ट भएको जनाउँदै विज्ञप्तिमा प्रदेशवासीलाई परेको पीडामा प्रदेश सरकारको समन्वयमा संघीय र स्थानीयतहको सहभागीतामा राहत प्रदान गर्ने घोषणा गरिएकाे छ ।
प्राकृतिक महाविपत्तिले सृजित समस्याको सामनाका लागि आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मालाई प्रभावित क्षेत्र बर्दिया र वाँकेमा राहत र उद्धार सामग्रीसहित पठाई सकिएको जनाउँदै विज्ञप्तिमा यस्ता महावित्तिमा नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले छिटो छरिटो रुपमा उद्धार कार्य गरेको उल्लेख गरिएको छ ।
अबिरल वर्षाका कारणले भएको आकस्मिक घटनालाई छिटो, छरिटो तरिकाले उद्धार गर्ने, सुरक्षा निकाय, स्थानीयतहका सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी लगायत सबै सरोकारवाला निकायप्रति धन्यवाद व्यक्त गर्दै मुख्यमन्त्री केसीले प्रदेशका किसानहरुको धानवाली उठाउने कार्यमा सहयोग गर्न जनप्रतिनिधी, राजनीतिक दल, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दलका भातृ एवं सुवेच्छुक संगठन, सामाजिक संघसँस्था, नागरिक समाज, रेडक्रस सोसाइटी, मावनअधिकारकर्मी, सञ्चारकर्मी, विद्यार्थी लगायत सबै जनसमुदायसँग सार्वजनिक अपिल गरेका छन् ।
निरन्तर वर्षाका करणले कर्णाली नदिबाट आएको वाढीले बर्दिया जिल्लाको राजापुर न.पा.को १०२७ घर परिवार र गेरुवा गा.पा. को २१० घर परिवार गरी जम्मा १ हजार २३७ घर परिवार प्रभावित भएकाे र प्रभावित एवं पीडित परिवार र नागरिकलाई सुरक्षित स्थानमा राखिएको जनउदै विज्ञप्तिमा कालीगण्डकी, नारायणी लगायतका नदिले पनि यस प्रदेशका नागरिकलाई प्रभावित बनाएकोप्रति प्रदेश सरकारले सबैको समन्वयमा सम्बेदनशीलताका साथ उद्धार तथा राहत प्रदान गरिएको जनाइएको छ ।
निरन्तर ३ दिनसम्मको वर्षाले प्यूठान जिल्ला माण्डवी गा.पा. ४ निवासी २८ वर्षिय देविसरा कार्कीको खोलाले बगाएर दुःखद निधन भएको जनाउँदै विज्ञप्तिमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएकाे छ । 






