घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचार गर्ने
काठमाण्डौ,३ कार्तिक ।
सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मीक बैठकले एकैघरमा एक जनाको मृत्यु भए २ लाख, २ जनाको मृत्यु भए ३ लाख र ३ जनाको मृत्यु भए ४ लाख दिने निर्णय भएको हो ।
एकैघरमा एक जनाको मृत्यु भएको खण्डमा २ लाख र एक भन्दा धेरैको मृत्यु भए थप एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
घर बनाउन ३ देखि ५ लाख दिने निर्णय
सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।
घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख समेत उपलब्ध गराइने गृहमन्त्री खाँणले बताए । यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ ।
यस्तै घाइतेहरुको निःशुल्क उपचार गर्नुकासाथै बैठकले राहत र उद्दारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय समेत गरेको छ ।






