काठमाडौं,३ कार्तिक ।
प्रधानमन्त्री देउवाले वर्तमान सरकारलाई सम्मानित सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको समेत बताएका छन् ।

सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर प्रधानमन्त्री बनाउन परमादेश र प्रतिनिधि सभाको १६५ जना सांसदको विश्वास प्राप्त गरेर जनादेश पाएको उनले स्पष्ट पारे ।

वर्तमान संयुक्त सरकारले सय दिन पूरा गरेको सन्दर्भमा गोरखापत्र दैनिकलाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले वर्तमान सरकारलाई सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको बताएका हुन् ।

संक्रमणकाल अन्त्य भएर मुलुक विस्तारै लिकमा फर्किएको बताउँदै प्रधानमन्त्री देउवाले अब संविधान सुरक्षित भएको दाबीसमेत गरेका छन् ।

अब मुलुक राजनीतिक स्थिरतातर्फ उन्मुख भएको बताउँदै प्रधानमन्त्री देउवाले समयमै तीन तहको निर्वाचन गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

अहिले कमसेकम अन्योलको अवस्थाबाट ग्रस्त भएको देशलाई लिकमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आगामी चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने बताए ।

कोरोनाविरुद्धको खोप उल्लेख्य मात्रामा आएको चर्चा गर्दै प्रधानमन्त्रीले भने, ‘नेपाललाई भारत र चीनले खोप सहयोग गरेको छ, अन्य देशबाट प्राप्त भइरहेको छ, अमेरिकासँग पनि खोप उपलब्ध गराउने विषयमा त्यहाँका परराष्ट्रमन्त्रीसँग कुराकानी भएको छ । मलाई विश्वास छ, यो वर्षको अन्त्यसम्म सबै नेपालीलाई खोप दिन सफल हुनेछौँ ।’

वर्तमान सरकारले खुला अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीति लिएको उनले बताए । यो सरकारले छिमेकी देश भारत र चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको प्रस्ट्याउँदै उनले भनेका छन्, ‘भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु नेपालको हितमा हुने छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नुपर्ने पनि बताएका छन् । एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएकाले यो नेपालको हितमा रहेको उनको भनाइ छ ।