काठमाण्डाै,३ कार्तिक । आइतबारदेखिको वर्षाका कारण आएको बाढी पहिरोमा परेर हालसम्म १६ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयकाअनुसार धनकुटामा ६, पाँचथरमा ४ इलाम र डोटीमा २, कालिकोट र डडेल्धुरामा एक/एक जनाको ज्यान गएको छ ।
बाढी पहिरोमा परेर केही बेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
यस्तै लगातारको वर्षा पछि पहिरोले ४ वटा घर पूर्ण रुपममा भत्किएका छन् भने झण्डै पाँच सय परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । यस्तै, पहिरोमा परेर हुम्लाको खार्पुनाथ–५ खर्पेल गाउँमा ६ जना पुरिएका छन् ।
खर्पेल गाउँमा रहेको बिचदउडामा रहेको धनबिरे शाहीको घर पहिरोले पुरिएको हो । पहिरोमा शाहीको परिवार पुरिएको आशंका गरिएको छ । खोजीकार्यका लागि नेपाली सेनासहित सुरक्षाकर्मी खटाइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
लगातारको बाढी पहिरोका कारण धेरै ठाउँमा सञ्चार र विद्युत् सेवा ठप्प भएको छ । यसले गर्दा सूचना आदानप्रदान गर्न र उद्धारमा कठिनाइ भएको गृह मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम र प्रदेश एकमा अत्यावश्यक सेवाका पूर्वाधारमा धेरै क्षति भएको छ । पाँच मुख्य राजमार्गसहित ९ वटा सडक अवरुद्ध छन् । सुदूरपश्चिमका कैलाली, बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला, बैतडीमा विद्युत् र सञ्चार सेवा पूर्ण रुपमा ठप्प छ । अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन र अन्य ३३ तथा ११ केभी लाइनमा क्षति पुगेको छ । यसबाट दार्चुलामा सञ्चालन रहेको ३० मेगावाटको चमेलियालगायतका जलविद्युत् आयोजनाको विद्युत उत्पादनसमेत बन्द भएको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा पनि अवरुद्ध भएको नेपाल टेलिकम सुदूरपश्चिम क्षेत्रीय निर्देशनालयले जनाएको छ । यस्तै सुनसरीको दुहबीमा रहेको सबस्टेसन डुबानमा परेपछि प्रदेश एकमा विद्युत् आपूर्ति ठप्प छ । हिजो बेलुकादेखि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको विद्युत प्राधिकरणले जनाएको छ । दुहबी सबस्टेसन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको प्राधिकरणका कार्यकारी कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
गृह मन्त्रालयले प्रभावित जिल्लामा खोजउद्धार तथा राहत वितरणलाई सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा गृह सचिवसहित चार वटै सुरक्षा निकायका प्रमुखको बैठकले खोजउद्धार तथा राहत वितरणलाई सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।







