बुटवल,२ कार्तिक । रूपन्देहीको बुटवल मोतीपुर स्थित औद्यौगिक क्षेत्रको जग्गा अतिक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु सुद्धोधन गांउपालिका–६ स्थायी घर भई हाल रुपन्देहीको बुटवल उप-महानगरपालिका-११ देवीनगरमा बस्दै आएका ४४ वर्षिय साविर अलि रहेका छन् ।
उनलाई सोमबार बुटवलको देविनगर स्थित डेराबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

औद्यौगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न मानिसहरुलाई उक्साउने,टोली गठन गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर निर्माण गर्ने लगायतका काममा संलग्न भएको आराेपमा पक्राउ परेका उनलाई प्रहरीले मँगलबार सार्वजनिक गरेको हो ।

पक्राउ परेका अलिलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्बजनिक शान्ती बिरुद्धको कसूरमा मुद्दा दर्ता भई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अभियुक्त अलिको साथबाट प्रहरीले ३ थान ब्यानर, माईनटिङको प्रतिलिपी, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको १३ थान कागजात र बस्ती विकासको सहयोग रसिद २ थान फेला परेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रदेश गौरबको आयोजनाका रुपमा रहेको मोतिपुर औद्यौगिक क्षेत्रमा गएको असोज २४ गते जग्गा कब्जा गर्न गएका व्यक्तिहरु र सुरक्षाकर्मी बीच झडप हुँदा ४ जनाकाे मृत्यु भएको थियो ।
जग्गा कब्जाकाे क्रियाकलाप बढेपछि त्यस क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

स्थानीयकाे ढुंगामुढा सहितको बिराेध प्रदर्शनका बाबजुद शिलान्यास गरिएको औद्यौगिक क्षेत्रकाे जग्गा सुकम्बासीका नाममा विभिन्न ठाउँबाट आएकोे समूहले कब्जा गर्ने प्रयास गरिरहेको छ ।