बुटवल,२ कार्तिक । नेपालमा कोरोना भाइरसको संक्रमण दर फेरि बढेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ९१६ जनाको नमुना परीक्षण गर्दा एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ११ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्ला केही दिन संक्रमण दर ५ देखि १० प्रतिशतको बीचमा रहेकोमा आज मंगलबार बढेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार चार जना काेराेना संक्रमित निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म सात लाख ८३ हजार ३९७ जना काेराेना संक्रमित निकाे भएका छन भने ११ हजार ३०५ जना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर ११ हजार आठ सय ८५ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा अहिलेसम्म एक करोड ५० लाख मात्रा कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । यसमध्ये ८५ लाख ६२ हजार तीन सय ६५ जनाले पहिलो मात्रा र ६४ लाख ८५ हजार नौ सय २३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।





