नवलपरासी,३० बैशाख ।
भुमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी माथि देशैभर दमन भएको भन्दै सुस्ता-१ रुपौलियामा बिरोध प्रदर्शन भएको छ ।
संयुक्त संघर्ष समिति नवलपरासीको आयोजनामा भएको प्रदर्शनमा विना विकल्प भुमिहीन,सुकुम्बासी र अव्यवस्थित बसोबासीका घरटहरा हटाउने काम बन्द गर्न प्रदर्शनकारीले माग गरेका थिए ।
सुस्ता-१ बनदेबी, करमाना, बनधरी, फेचुहा,छघरालगायतका बस्तीका बासिन्दाले उक्त बिरोध प्रर्दशन गरेका हुन् । डोजर आतंक बन्द गर,राज्य आतंक बन्द गर जस्ता सरकार बिरोधी नाराबाजी सहित भएको र्याली रुपौलिया चोकमा पुगेर कोणसभा परिणत भएको थियो ।
कोण सभाका प्रमुख बक्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा, चारदल सम्मीलित संयुक्त संघर्ष समिति नवलपरासीका संयोजक रवि पाण्डेय, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समितिका जिल्ला संयोजक चुडामणि भण्डारी,सोमबहादुर बिश्वकर्मा लगायतले बोल्दै राज्यले गरिब बिपन्नलाई दुश्मनको ब्यवहार गरेको भन्दै बिरोध जनाए ।
संयुक्त संघर्ष समितिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा(बहुमत),नेकपा र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी आबद्व छन् । प्रदर्शन अघि उक्त क्षेत्रमा ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।






