काठमाडौँ,३० वैशाख ।
विपक्षी दलको अवरोधका कारण संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
आजको संसद बैठकमा नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री बालेन शाहबाट आउनुपर्ने माग गर्दै विपक्षी सांसदहरुले आवाज उठाएका छन् ।

तर प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरेपछि संसद बैठकमा असहज स्थिति सिर्जना भएको छ ।

शून्य समयमा सांसदहरुले बोलिसकेपछि सभामुख डिपी अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममा उठेका प्रश्नबारे समय दिएका थिए । त्यसपछि प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति लगायत दलका सांसदले उठेर विरोध जनाए । उनीहरुले प्रधानमन्त्रीको आवाज सुन्न नपाइने संसदमा कसरी सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुन्छ भनी प्रश्न उठाएका थिए ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि विपक्षीहरूले अवरोध गरेका थिए ।

अवरोधकाबिच सभामुखले बैठकलाई निरन्तरता दिने प्रयास गरे पनि विपक्षीहरुले नमानेपछि बैठक स्थगित गरिएको हो ।