काठमाण्डौ,१ कार्तिक ।
सरकारले साफ उपबिजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रति व्यक्ति पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रति व्यक्ति पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

बैठकले फुटबल टोलीको प्रशिक्षकहरूलाई प्रति व्यक्ति तीन लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुने प्रतिनिधि मण्डल गठन गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए । मोहम्मद जयन्ती १४९६ को अवसरमा भोली कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको पनि प्रवक्ता कार्कीले बताए ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले अबुधाबी डाइलगको छैटौँ मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृत दिने, विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

सरकारका प्रवक्ता कार्कीका अनुसार मन्त्रिपरिषद्को बैठकले लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम राजपत्राङ्कित प्रथम श्रेणीका विभिन्न पदमा नियुक्ति गर्ने निर्णयसमेत गरेको छ ।