काठमाडौं,१ कार्तिक । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यकाे पद अबको ३ दिनमा खाेसिने भएको छ ।
आउँदो बिहीबार (४ कातिक) मा बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

प्रदेश सभामा मुख्यमन्त्री शाक्यको पक्षमा बहुमत नभएकोले साेही दिन उनको मुख्यमन्त्री पद खाेसिने भएको हो ।
गत २४ असोजमा बसेको प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्ताव टेबल भएको थियो । तर, सो दिन त्यसमाथि छलफल र मतदान भएन । केही बेरमै ४ कातिकमा बैठक बस्ने सूचना जारी गर्दै प्रदेश सभाको बैठक स्थगित भएको थियो ।

शाक्य नेकपा एमालेबाट गत २ भदौमा मुख्यमन्त्री भएकी हुन् । नेपालकै पहिलो मुख्यमन्त्री महिला भएकी शाक्य अहिले अल्पमतमा छिन् । एमाले विभाजन भएसँगै अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपरेको हो ।

बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि एमाले बागमती प्रदेश संसदीय दलका नेता शाक्य मुख्यमन्त्री बनेकी थिइन् । एमाले विभाजनसँगै बागमती प्रदेशमा एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्य अल्पमतमा परेकी हुन् ।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्राबधान रहेको छ ।

गत २७ भदौमा एमाले विभाजन भइ एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसदहरुको विवरणसहितको पत्र संसद् सचिवालयमा दर्ता भएपछि मुख्यमन्त्री शाक्य आधिकारिक रुपमा अल्पमतमा परेकी थिइन् ।

पार्टी विभाजनको क्रममा तत्कालीन वरिष्ठ नेता हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको साथ छोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएपछि शाक्य मुख्यमन्त्री बनेकी हुन् । तर, अल्पमतमा परेकी शाक्य ४ कातिकसम्म मात्रै मुख्यमन्त्री रहने निश्चित भएको छ ।
एमाले एक हुँदा लामो समय तत्कालीन वरिष्ठ नेता नेपाललाई साथ दिँदै आएकी शाक्य पार्टी विभाजनको अन्तिम समयमा नेपाललाई धोका दिएर ओली समूहमा समाहित भएकी थिइन् ।

कसको पक्षमा कति सांसद ?

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने ८ वटा दल मध्ये प्रदेशसभामा एमालेका ४३, माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाका १ सांसद रहेका छन् ।

विभाजन हुनुअघि एमाले सांसदको संख्या ५६ रहेको थियो । तर, एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि एमालेको सांसद संख्या ४३ जनामा खुम्चिएको हो । साना दलले यसअघि नै तटस्थ बस्ने बताइसकेका कारण शाक्यलाई आफ्नो सरकार बचाउन समस्या छ । साना दलहरु विवेकशील साझा, नेमकिपा र राप्रपा तटस्थ बस्दा शाक्यलाई थप १२ मत आवश्यक पर्ने देखिन्छ । तटस्थ बस्ने साना दलसँग ७ जना सांसद छन् ।

बागमती प्रदेशमा जम्मा १०९ जना सांसद रहेका छन् । सरकार बनाउनका लागि ५५ सांसद आवश्यक पर्छ । तर, एमालेसँग ४३ जना सांसदमात्रै छन् । पाँच दलीय गठबन्धनको सांसद संख्या ५९ रहेको छ । त्यसैले वागमती प्रदेशमा पाँच दलीय गठबन्धनकै सरकार बन्ने निश्चित छ ।

बागमती प्रदेशमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको संयुक्त सरकार बन्ने निश्चित छ । गठबन्धन सरकारको नेतृत्व एकीकृत समाजवादी वागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले गर्ने सहमती शीर्ष नेताहरुबीच भइसकेको छ ।

बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित भएपछि दलहरुका बीचमा मन्त्रालय भागबण्डाबारे समेत आन्तरिक गृहकार्य सुरु भएको छ ।