काठमाडौं,१ कार्तिक । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले विपद व्यवस्थापन र कोभिड–१९ महामारी नियन्त्रण तथा शान्ति स्थापनार्थ नेपाली सेनाले निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन् ।

आइतबार जंगी अड्डाको निरीक्षणका क्रममा मन्त्री रिजालले सेनाले देशभित्र कोडिभ–१९ विरुद्धको प्रतिकार्य तथा देश बाहिर शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका हुन् ।

रिजालले आफ्नो कार्यकाल भरी राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्नशील रहने तथा नेपाली सेनाले प्राथमिकतामा राखेका कार्यहरूको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि प्रयत्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

सो अवसरमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले मन्त्री रिजाललाई जंगी अड्डानमा स्वागत गर्दै नेपाली सेनालाई नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट प्राप्त भइरहेको निर्देशन तथा सहयोगको लागि आभार व्यक्त गरे ।

प्रधान सेनापति शर्माले रक्षामन्त्रीको सबल नेतृत्व र निर्देशनमा रक्षा मन्त्रालयबाट नेपाली सेनाको आधुनिकिकरण र पेशागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास व्यक्त गरे ।

साथै उनले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको बताए ।

कार्यक्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल,रक्षा मन्त्रालयका प्रतिनिधिहरू तथा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको सहभागीता रहेको थियो ।