काठमाडौं,२८ असोज ।
प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सफल भएकोमा नेपाली फुटबल टिमलाई बधाई दिएका छन् ।
बुधबार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।
बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाली टिमलाई बधाई दिएका हुन् । उनले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गरेका छन् ।
ट्वीटरमा देउवाले लेखेका छन्, ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु ।’
साफ च्याम्पियनसिपको फाइनलमा अब नेपाल र भारतबीच प्रतिस्पर्धा हुने छ । बुधबार नै भारतले मालदिभ्सलाई ३–१ले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको छ ।








