काठमाडौं,२४ असाेज । नवनियुक्त उद्योग वाणिज्य एवं आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका हुन् । हमालले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका छन् । हमालले राजीनामा दिएर बालुवाटारबाट फर्किसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका क्रियाशील सदस्य मात्र रहेका हमाललाई सांसद नभएपनि प्रधानमन्त्री देउवाले मन्त्री बनाएका थिए । तर, प्रधानन्यायाधीस जबराको सिफारिसमा उनलाई मन्त्री बनाइएको भन्दै सत्तारुढ दलकै नेताहरुबाट समेत विरोध भएको थियो । यस्तै, पूर्वन्यायाधीसहरु, कानूनव्यवसायीहरु, राजनीतिक दलका नेताहरु र नागरिक समाजबाट चर्को आलोचना गरेका थिए ।

मन्त्रालय भागवण्डा गर्दा प्रधानन्यायाधीस जबराले कोटा मागेको र सो कोटामा आफ्ना जेठानलाई पठाएको आरोप लागेको थियो ।