बुटवल,२३ असोज ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ दीपनगर स्थित जनभावना माध्यामिक विद्यालयले नेपाल सरकारले प्रदान गर्ने विभिन्न छात्रवृत्तिमा नाम निकाल्न सफल भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी एमबिबिएस÷बिडिएस र बिएस्सी एजीमा छात्रवृत्तिमा नाम निकाल्न सफल तीन जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
विद्यालयबाट माध्यामिक तह उत्तीर्ण गरेका सुजाता कठेरियाले २०७८ मा एमबिबिएस÷बिडिएस, भुवन थारुले २०७५ मा विएस्सी एजी र शुभेच्क्षा ढकालले २०७६ मा बिएस्सी एजीमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको विद्यालयले जनाएको छ ।
सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्ष कृष्णप्रसाद पौडेलले तिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयहरु अब्बल बन्दै गैरहेको भन्दै खुसी व्यक्त गरे ।
जनभावना माविका विद्यार्थीहरुले नेपाल सरकारले प्रदान गर्ने छात्रवृत्ति प्राप्त गर्न सक्नु गुणस्तरीय शिक्षाको प्रमाण भएको बताउँदै उनले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु पनि अव्बल र सक्षम हुन्छन भन्ने मान्यता स्थापित हुँदै गएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर थापाले शैक्षिक गुणस्तर वृद्धिसँगै विद्यालयमा भौतिक पूर्वाधार विकासका काम समेत अघि बढिरहेको बताए ।
विद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद पराजुलीले समयको माग अनुरुप विद्यार्थीका लागि अध्ययनको वातावरण निर्माणमा विद्यालय प्रतिबद्ध रहेको स्पष्ट पारे ।
शिक्षक शिला घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम शालिकराम भुसालको सञ्चालनमा भएको थियो । विद्यालयमा हाल झण्डै ७ सय ५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।







