काठमाडौं,२३ असाेज । एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा आज चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दै छन् । दुवै टिम यो संस्करणमा पहिलो पटक उपाधिका लागि भिड्न लागेका हुन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज हुने फाइनलमा चितवन आफ्नो पोखराविरुद्धको रवाफ कायम राख्ने दाउमा रहदा पोखरा भने चितवनसँग बदला लिंदै उपाधि चुम्ने रणनीतिमा छ । फाइनल खेल १२:१५ मा सुरु हुने छ।
दुवै टिमले यसअघि जारी प्रतियोगितामा एक अर्का विरुद्ध दुई पटक प्रतिस्पर्धा गर्दा दुवैमा चितवन विजयी भएको थियो। पछिल्लो पटक भएको पिहलो क्वालिफायरमा चितवनले प्रभावशाली जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो। यद्यपि‚ पोखराले दोस्रो क्वालिफायरमा भैरहवालाई पराजित गर्दै फाइनलमा पुगेको थियो।
यी दुई टिमबीचको फाइनल भिडन्तले ३५ लाखको छिनोफानो गर्ने छ। विजेताले ५० लाख प्राप्त गर्दा उपविजेताले केवल १५ लाख रुपैयाँ मात्रै पाउने छ। त्यसैले दुवै टिमको यो एक खेल ३५ लाखको लडाइँका रुपमा रहने छ। र दुवैको लक्ष्य च्याम्पियन बन्ने हुने छ।
चितवनका कप्तान सोमपाल फाइनलमा आफ्नो टिमले विगत नहेर्ने बताए ।
पोखराका कप्तान विनोद भण्डारीले फाइनलमा राम्रो खेल्दै उपाधि जित्ने दाबी गरे ।








