काठमाडौं,२१ असोज । नेपालमा बिहीबार थप ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार २६४ नमुनाको पीसीआर परीक्षण गर्दा ६६७ जना र ३ हजार ४०८ एन्टिजेन परीक्षण गर्दा १३८ गरि ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९३ हजार ७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ९११ जना काेराेना संक्रमित निको भएका छन भने ८ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ७ लाख ७३ हजार १४० जना काेराेना संक्रमित निकाे भएका छन भने ११ हजार २ सय जनाको मृत्यु भएको छ ।
देशभर रहेका सक्रिय संक्रमितमध्ये १४ हजार ७२८ जना होम आइसोलेसनमा रहेका छन भने १ हजार २१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३२९ जनाको आईसीयू र ११२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २९४ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २०७, ललितपुरका ५३ र भक्तपुरका ३४ जना रहेका छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा १३६, प्रदेश २ मा ११ र बागमती प्रदेशमा ३३५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा ८८, लुम्बिनीमा ६४, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।





