कपिलवस्तु ५ भदौ ।
भारतको ८० औं स्वतन्त्रता दिवसको सुअवसरमा काठमाडौँ स्थित भारतीय दूतावासको आयोजनामा कपिलवस्तुको तौलिहवामा सांगीतिक एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमले नेपाल र भारतबीचको शताब्दीऔं पुरानो सांस्कृतिक, सामाजिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाएको छ ।

कार्यक्रममा प्रसिद्ध भारतीय गायक राजेश पाण्डेले जब शून्य दिया मेरे भारत नेलगायतका लोकप्रिय देशभक्तिपूर्ण गीतहरू प्रस्तुत गरी उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले नेपाल–भारत सम्बन्ध केवल दुई राष्ट्रबीचको कूटनीतिक दायरामा मात्र सीमित नरही गहिरो सांस्कृतिक र पारिवारिक बन्धनमा आधारित रहेको बताएका थिए । उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको कपिलवस्तुमा यस्ता कार्यक्रम हुनु दुई देशबीचको साझा बौद्ध र सांस्कृतिक सम्पदाको प्रतीक भएको उल्लेख गरे ।

भारतीय दूतावासका संयोजक वसीम मलिकले कार्यक्रमलाई सफल बनाउन सहयोग पु¥याउने प्रमुख अतिथि, कलाकार तथा सम्पूर्ण दर्शकहरूलाई धन्यवाद दिँदै यस्ता सांस्कृतिक आदानप्रदानले द्विपक्षीय सद्भाव र मित्रतालाई अझ बलियो बनाउने धारणा राखेका थिए ।

लुम्बिनी विकास कोषका निवर्तमान सदस्य राजेश ज्ञवालीले समन्वय गरेको उक्त कार्यक्रममा दुतावासका किमोद थापा,भारतीय दूतावासका प्रतिनिधि अरविन्द सिंह, विजय गाउँपालिकाका अध्यक्ष गोपाल थापा र सुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे, प्रहरी उपरीक्षकहरू मनोहर भट्ट र गोपाल अधिकारीको सहभागीता रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले भारतीय संगीत तथा सांस्कृतिक प्रस्तुतिको भरपुर आनन्द लिएका थिए भने आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ ।