काठमाडौं,२० असाेज । सत्तागठवन्धन दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेका छन् ।

सरकारमा पठाउने मन्त्रीहरूकाे टुंगो लगाउन माओवादी केन्द्रले आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको छ ।

पार्टीका स्थायी समिति सदस्य हरिबोल गजुरेलका अनुसार आजको बैठकमा सरकारमा जाने थप मन्त्रीको नाम टुंगो लगाउने भएको छ । साथै, समसामयिक राजनीति विषयमा छलफल हुने छ ।

गठबन्धन सरकारमा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय पाइसकेको छ । अब माओवादीले बढीमा चार मन्त्री सरकारमा पठाउनेछ । माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले बैठकमा समसामयिक राजनीतिका साथै पार्टीका विभिन्न विभाग, आयोग, मञ्च लगायतको पूर्णता दिनेबारे छलफल हुने जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा बस्नेछ ।
त्यस्तै सरकारमा सहभागी हुने मन्त्रीको नाम चयन गर्न जनता समाजवादी पार्टी (जसपा)नेपालको कार्यकारिणी समितिको बैठक पनि आजै बस्दैछ ।

सत्तारुढ गठबन्धनमा मन्त्रालयको टुंगो लागेपछि मन्त्रीमा क–कसलाई पठाउने विषयमा छलफल गर्न बुधबार जसपा नेपालले कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।

पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार मन्त्रीमण्डलमा कसलाई कसरी पठाउने भन्ने मापदण्ड बनाउन कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । मंगलबार बसेको जसपा संसदीय दलको बैठकले मन्त्रीबारे निर्णय लिने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियोे ।

अध्यक्ष यादवले मन्त्रीको नाम टुंगो लगाउनुभन्दा पहिले कार्यकारिणी समितिको बैठकबाट पनि त्यसको म्याण्डेट लिन लागेका हुन् । जसपाले भौतिक पूर्वाधार तथा यतायात, वन तथा वतावरण, संघीय मामिला तथा समान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको छ ।