बुटवल,१९ असाेज । लुम्बिनी प्रदेश सरकारले बुधबार शंसाेधित बजेट ल्याउने तयारी गरेको छ ।
बुधबार बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा प्रतिस्थापन विधेयकमार्फत प्रदेश सरकारले शंसाेधित बजेट ल्याउने तयारी गरेको हो ।
प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट पेश गर्ने तयारी भएको एक मन्त्रीले जानकारी दिए ।

एमाले नेता शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । प्रतिपक्षी दलहरूको असहयोगका कारण बजेट पारित हुन नसकेपछि तत्कालिन सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो ।

तर, २८ साउनमा माओवादी केन्द्रका कुलप्रसाद केसी नेतृत्वमा कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद अजय शाहीसमेतको गठबन्धन सरकार बनेपछि बजेट कार्यान्वयन हुन सकेको थिएन ।

प्रतिस्थापन विधेयकमार्फत ल्याउन लागिएको बजेटमा लुम्बिनी प्रदेश बैंक स्थापना, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रर्वद्धनका लागि बहु–साँस्कृतिक डबली निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित मायाको चिनो तथा उपहार सामग्री उत्पादन उद्योग स्थापना लगायतका नयाँ कार्यक्रम समेटिने जनाइएको छ ।

यसअघिको बजेटमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ विनियोजन भएको थियो ।

प्रदेश सभामा विपक्षी दल एमालेले भने बैठक अवरुद्ध गर्ने बताएको छ । एमालेले स्वतन्त्र सांसद अजय शाही र गत १९ वैशाखमा माओवादी केन्द्र रोजिसकेकी विमला खत्री वलीलाई आफ्ना सांसद दावी गर्दै उनीहरूलाई पदमुक्त गर्नुपर्ने मागसहित प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।