काठमाडौँ,१९ असोज ।
एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत भैरहवा ग्लाडिएटर्स र काठमाडौँ किंग्स–११ बीच आजका लागि तय भएको लिगको अन्तिम खेल रद्द भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय भएको उक्त खेल मैदानको आउटफिल्ड भिजेका कारण खेल्न योग्य नभएपछि रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन् ।

यससँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ किङ्स–११ प्ले अफमा प्रवेश गरेको छ । काठमाडौँ चौथो स्थानमा रहँदै प्ले अफमा पुगेको हो ।

५ खेलमा काठमाडौँले ३ अङ्क जोड्न सफल भएको छ । ललितपुर प्याट्रियट्सले समान ३ अङ्क जोडे पनि काठमाडौँ नेट रन रेटका आधारमा प्ले अफमा पुगेको हो ।
लिगमा आठ अङ्क जोडेको चितवन टाइगर्स पहिलो स्थानमा छ भने सात अङ्क जोडेको पोखरा दोस्रो स्थानमा छ । त्यस्तै समान सात अङ्क नै जोडेको भैरहवा नेट रन रेटका आधारमा तेस्रो स्थानमा रहेको छ ।

साबिक विजेता ललितपुरसँगै दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिएका छन् ।

भोलि बिहान ९ः१५ बजे चितवन टाइगर्स र पोखराबीच पहिलो क्वालिफायर खेल हुनेछ । त्यस्तै काठमाडौँले भैरहवासँग इलिमिनेटर खेल खेल्नेछ ।

उक्त खेल भोलि दिउँसो १ः३० बजे हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु ५० लाख तथा उपविजेताले रु १५ लाख पाउनेछ ।