काठमाण्डाै,१९ असाेज । यसपालिको दशैँमा पनि पानी पर्ने सम्भावना रहेको माैसमविद्को बताएका छन् । मनसुन अझै केही दिन रहने भएकाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्काे अनुमान छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिलेसम्मको प्रक्षेपणले यो हप्ताभरि नै मनसुन रहने अनुमान गरिएको छ । दशैँको घटस्थापना सुरु हुन अब दुई दिन मात्रै बाँकी छ । मौसमविद् मानन्धरले यसपालिको दशैँमा हल्कादेखि मध्यम खालकाे पानी पर्ने सम्भावना रहेको जानकारी दिइन् ।

लगातारको झरी र ठूलो पानी पर्ने सम्भावना नरहे पनि हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान रहेको उनलेे बताइन् । दशैँ नजिकिएसँगै यात्रुहरु गाउँ घर जान थालिसकेका छन् । पानी पर्ने सम्भावना रहेकाले पहिरोको जोखिम हुने भन्दै यात्रा गर्दा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेकाे छ ।

यस्तै, मौसमविद् मानन्धरले यसपालि दशैँ पछि पनि पानी पर्ने सम्भावना रहेको जानकारी दिइन् । अक्टोबर र नोभेम्बरमा पोस्ट मनसुनका गतिविधि हुने भएकाले दशैँ पछि पनि पानी पर्ने उनले बताइन । यसपालि मनसुन सुरु भए पछि औसतभन्दा धेरै वर्षा भइसकेको छ ।

गएको जेठ २८ गते नेपालमा मनसुन भित्रिएको थियो । मौसमविद्ले मनसुन सुरु हुनु अगावै यसपालि धेरै पानी पर्ने अनुमान गरेका थिए ।