बुटवल,१८ असाेज । भारतीय मजदुरले खुकुरी प्रहार गरि रुपन्देहीमा एक जनाकाे हत्या गरेका छन् ।
आइतबार राति शुद्धोधन–३, बेतानी स्थित प्लाई उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी उद्योग सञ्चालक पश्चिम नवलपरासीको सुस्ता–३ का अवधेश चमारको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाका अनुसार मापसे सेवन गरेका मजदुरहरुमा सानो विषयमा भएको खटपटले खुकुरी प्रहार भएकाे हाे।

रविले अवधेशलाई खुकुरी हानेपछि उनका पिता गोपिचन्दलाई समेत खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारपछि अस्पताल लैजाने क्रममा अवधेशको बाटोमै मृत्यु भएको र उनका पिता र प्रहार गर्ने रविको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।