बुटवल,१७ असोज ।
तिलोत्तमा नगरपालिकाकी सीता भण्डारी मृत्यु प्रकरणलाई लिएर उनका आफन्तले आइतबार रुपन्देही जिल्ला अदालत घेराउ गरेका छन् ।
घटनामा प्रहरी अनुसन्धानप्रति असन्तुष्टी जनाउदै उनिहरुले आज रुपन्देही जिल्ला अदालत घेराउ गरेका हुन् ।
आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी हिरासतमा रहेका मृतक सीताका श्रीमान टिका पौडेल, जेठाजु हरि प्रसाद पौडेल र मृतककी अमाजु बिष्णु पौडेललाई सरकारी वकिलले जिल्ला अदालतमा पेश गर्ने थाहा पाएपछि उनिहरु अदालत घेराउ गर्न गएका हुन् ।
आर्थिक प्रलोभनमा परि प्रहरीले दोषीहरुलाई उन्मुक्ति दिने प्रयास गरेको मृतकका आफन्तको आरोप रहेको छ । बिभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका आफन्तहरुले प्रहरी बिरुद्ध नाराबाजी समेत गरेका थिए ।
उनिहरुले घुस खान पाइँदै,अपराधीलाई कार्यवाही गर, हत्यारालाई खुलेआम छोड्न पाइँदैन जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
मृतक सीता भण्डारीकी आमा पुनम भण्डारीले छोरीलाई कर्तब्य गरि मारेको भन्दै प्रहरीको अनुसन्धान प्रति सन्देह ब्यक्त गरिेन् ।
हत्याको प्रर्याप्त प्रमाण हुँदा–हँुदै प्रहरीले घटनालाई आत्महत्या बनााउन खोजेको उनको आरोप छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ कफी कम्पनी नजिकै घर भएका ४३ वर्षीय टीका पौड्यालकी २७ वर्षीया श्रीमती सीता भण्डारी पौड्याल भदौं २० गते आफ्नै घरको कोठामा रहस्यमय रुपमा मृत फेला परेकी थिइन् । त्यस यता उनको माईती पक्षले छोरीको हत्या भएको भन्दै आन्दोलन गर्दै आएका छन् ।
प्रहरी अनुसन्धान प्रति असन्तुष्टि जनाउदै मृत्यु भएको १ महिना हुन लाग्दा समेत आफन्तहरुले मृतकको शव उठाएका छैनन् ।
मृतकका दाजु नाता पर्ने गोपाल भण्डारीले प्रहरी र केन्द्रिय अनुसन्धान ब्यूरोले निष्पक्ष छानबिन नगरेको आरोप लगाए ।
सीताको हत्या भएको आफन्तले आरोप लगाए पनि रुपन्देही प्रहरीले भने घटना आत्महत्या भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले २ दिन अघि सीता भण्डारी मृत्यु सम्बन्धमा अनुसन्धान विवरण सार्वजनिक गरेको थियो । विवरणमा सीताले आफ्नो मोबाईलमा सुसाईड नोट लेखेर आत्महत्या गरेको दावी गरेको छ ।






