काठमाडौं, १६ असोज ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले एमालेको विधान महाधिवेशन केपी ओलीको प्रशंसामा गीत गाएर समाप्त हुने टिप्पणी गरेका छन् ।
शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।
एमालेको प्रथम विधान महाधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा गीत गाउने कुम्भमेलाको संज्ञा दिदै उनले विधान महाधिवेशन केपी ओलीको प्रशंसामा गीत गाएर समाप्त हुने टिप्पणी गरे ।
उनले जनताको बहुदलीय जनवादलाई मार्गदर्शन मान्छु भन्ने एमालेको जारी प्रथम विधान महाधिवेशनमा फरक विचार पनि राख्न नदिईएको दाबी समेत गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद् चल्न नदिनुलाई लोकतन्त्र र संविधानमाथिको हमला भएको बिचार व्यक्त गरे । उनले भने,‘त्यो गतिवधिले एमाले नाँग्गिएको छ ।
उनले एमालेले आगामी निर्वाचनमा एक्लैले बहुमत ल्याउँछु भन्नु हावादारी कल्पनामात्रै भएको टिप्पणी गरे । उनले भने,‘यो त केपी ओलीले हिजो रेल, पानीजहाज ल्याउँछु भनेजस्तै हावादारी कल्पनामात्रै होे ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रलाई समाप्त पार्न खोजिएको भन्दै उनले अहिले सदन अवरुद्ध गर्नुपनि त्यसकै निरन्तरता भएको आरोप लगाए ।
उनले भने,‘अदालतमा विचाराधिन मुद्दामाथि संसद्मा छलफल हुन सक्दैन् । एमालेले जुन विषय उठाएर सदन अवरुद्ध गरिरहेको छ, त्यो गैरसंवैधानिक छ । एमालेले निरन्तर रुपमा त्यही विषय उठाएको छ । कानूनी हिसाबले पनि सभामुखको निर्णयउपर, सदनमा विरोध गरेर सदन अवरुद्ध गर्न पाईँदैन् । कानूनी उपचार खोज्न सकिन्छ, तर त्यहीँभित्र विरोध गर्ने अधिकार हुँदैन् । यो खालको व्यवहारले राजनीतिलाई अस्थिर बनाईहने र लोकतन्त्रलाई धराप बनाउने काम भयो ।’







