काठमाडौं,१६ असोज ।
नेपालमा शनिबार थप ८६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ५ हजार ५९८ नमुनाको पीसीआर परीक्षण गर्दा ६५९ जना र २ हजार ६२१ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १२३ जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ११ हजार १५७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ रहेको छ । जसमध्ये १६ हजार ३७१ जना होम आइसोलेसनमा र १२७१ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३५० जना आईसीयूमा र ११२ जना भेन्टिलेटरमा उपचाररत छन् ।
शनिबार पुष्टि भएका संक्रमितमध्ये काठमाडौं जिल्लामा १६४, ललितपुरमा ६५ र भक्तपुरमा २६ जना गरी उपत्यकामा २५५ जना रहेका छन् । त्यस्तै झापामा ५०, मोरङमा ४६, सुनसरीमा ३०, चितवनमा १९, कास्कीमा ३८, रुपन्देहीमा ३७, सुर्खेतमा ३३ र कैलालीमा २३ जना रहेका छन् ।





